Sunday, March 16News That Matters

दुई जनाको ज्यान लिने टिफर चालक ५ बर्षपछि पक्राउ

पूर्णपुष्टि, जेष्ठ ३ । उदयपुरमा सवारी ज्यान मुद्धाका फरार टिफर चालक ५ बर्ष पछि पक्राउ परेको छ । चितवन भण्डारा राप्ती नगरपालिका–६ बस्ने २६ बर्षीय सरोज प्रजा चेपाङलाई सवारी दुर्घटना गरेको ५ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार चेपाङलाई बिहिबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चितवनबाट पक्राउ गरेको हो ।

२०७६÷३÷४ गते बिहान अन्दाजी ९ बजेर ४८ मिनेटको समयमा चौदण्डीगढी नगरपालिका–७ लाटीखोला स्थितमा शनिबारे बाट बेल्टार तर्फ आउँदै गरेको रसुवा कम्पनी प्रा.लि.को वा २ क ७०९ नम्बरको टिफरले सोही दिशा तर्फ जादैँ गरेको स ४ प ३६१ नं. मोटरसाईकललाई ठक्कर दिएको थियो ।

टिफरको ठक्करबाट मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका–४ बस्ने ४७ बर्षीय खगेन्द्र राई र पछाडी सवार ४७ बर्षीय जिवन कुमार साम्पाङ राईको घटना स्थलमा नै मृत्यु भएको थियो । मोटरसाईकललाई ठक्कर दिएपश्चात चेपाङ फरार रहेका थिए । पक्राउ परेका चेपाङको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।