
पूर्णपुष्टि, कार्तिक ३०
दुई वडा सदस्य काम सम्पन्न भएको सिफारिस गरिदिएबापत घुस लिएको अभियोगमा सर्लाहीबाट पक्राउ परेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यहरू सोनलाल साह र उमेश रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासबाट खटेको टोलीले सोमवार पक्राउ गरेको हो । दुवै वडा सदस्यलाई एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।
ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत घुस लिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
