
पूर्णपुष्टि, पुष १८ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसमा दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन नहुँदा विद्यार्थीहरूलाई असर परेको छ । बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बरुवा क्याम्पस कमिटि उदयपुरका सचिव अभिषेक थापा मगरले नाला व्यवस्थापनको माग राख्दै निकालेको विज्ञप्ती क्याम्पस प्रमुख भिम बहादुर खड्कालाई बुझाएका छन् । ।
विज्ञप्तमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम्पसमा बढ्दो सहरीकरणसँगै फोहोरको समस्या पनि बढ्दै गएको छ, क्याम्पस प्राङ्गण नजिकैको नालीमा अव्यवस्थित रूपमा बगिरहेको दुर्गन्धित फोहोर पानीका कारण दैनिक ६ सय देखि ७ सय विद्यार्थीहरू क्याम्पस प्रवेश गर्दा र निस्किदा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।’
विज्ञप्तिमा देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक थलोमा यस्तो समस्या हुनु दुःखद रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सहज अध्ययनका लागि स्वच्छ वातावरण सिर्जना गर्न क्याम्पस प्रशासन र स्थानीय सरकारसँग जोडदार माग गरिएको छ । ४० जना विद्यार्थीहरूको उपस्थितिमा क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाइएको सचिव मगरले जनाए ।