पूर्णपुष्टि/उदयपुर, पुस ११ गते ।
जिल्ला अस्पताल उदयपुरको चरम लापरवाहीका कारण मंगलबार बोलेरो जीप दुर्घटना भई गम्भिर घाइते भएकाहरुले उपचार पाउन सकेनन् ।
एकजनाको घटनास्थलमै मृत्यु भएको दुर्घटनाका तीनजना गम्भिर घाइतेहरुलाई अस्पताल ल्याइएपनि डाक्टर नहुँदा उपचार पाउन नसकेको हो । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटनामा त्रियुगा नगरपालिका १० का कमल मगरको मृत्यु भएको हो भने चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा डाक्टर नभेटेकामा घाइतेका आफन्तहरुले अस्पतालमा आक्रोस व्यक्त गरेका थिए । स्थानीय युवा केशव राईले अस्पतालको चरम लापरवाहीले गम्भिर घाइतेहरुले उपचार पाउन नसकेको गुनासो गर्नुभयो ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार अस्पतालमा डाक्टरलाई बेलैमा खबर गरिएपनि विरामी ल्याईपुर्याउदा डाक्टर भेटिएन । डिउटीमा रहनुपर्ने डा. अमित मिश्रलाई बारम्बार खबर गर्दा पनि नआएपछि प्रहरीकै चिकित्सकबाट प्राथमिक उपचार गराई घाइतेहरुलाई २ ओटा एम्बुलेन्सबाट उपचारार्थ विराटनगर पठाइएको थियो ।
डाक्टर नबस्ने, कार्यतालिका नमिलाउने जस्ता अस्पतालको चरम लापरवाहीले दुर्घटनाका घाइतेहरुले उपचार नपाएको खबरलगत्तै अस्पताल पुग्नु भएका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले डाक्टरको गैरजिम्मेवारीपनलाई गम्भिररुपमा लिइएको बताउनुभयो । उहाँले अस्पतालको डाक्टर, कर्मचारीको लापरवाही र गैरजिम्मेवारीपनमा कारवाही अगाडी बढाइने र व्यवस्थापकीय कमजोरीको बारेमा पनि ध्यान दिइने बताउनुभयो । डाक्टरको मनपरी हाजिरीसमेत पाइएपछि प्रजिअकै अगाडी अनुपस्थित डाक्टरको हाजिरीमा रातोमसी लगाईएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्रीले अस्पतालको लापारवाही स्विकार गर्दै अस्पतालमा डाक्टर तथा कर्मचारीको लापरवाही रहेको बताउनुभयो । उहाँले डाक्टर, कर्मचारीको लापरवाही र अस्पतालको समस्याको बारेमा भोली नै विभागमा रिपोर्ट गरी सुधारको पहल गर्ने बताउनुभयो ।
यो पनि…
अस्पतालको चरम लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले यसो भने ? (हेर्नुहोस् भिडियो)