
पूर्णपुष्टि, माघ १८ । ओखलढुंगामा तीन जनाको ज्यान लिने सवारी दुर्घटनापछि फरार रहेका सुमो चालक अनिल पण्डितलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचाररत २२ वर्षीय पण्डितलाई शुक्रबार फेला पारिएको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।
बुधबार राति खोटाङकी मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा ओखलढुंगाको मानेभञ्ज्याङमा ना १ ज ६४२१ नम्बरको टाटा सुमो दुर्घटना भएको थियो । दुर्घटनामा आगोले जलेर गम्भीर घाइते भएकी केपिलासगढी गाउँपालिकाकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पवन र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो ।
प्रहरी प्रमुख खड्काका अनुसार दुर्घटनापछि फरार रहेका चालक पण्डित हात, छाती र अनुहारमा चोटपटक लागेर उपचार गराइरहेको अवस्थामा फेला परेका हुन् । उनको प्रहरी निगरानीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार भएपछि सोधपुछ गरिने बताइएको छ । दुर्घटनामा मृत्यु भएका तीनै जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।