
पूर्णपुष्टि, चैत २२
फेरी नेपालको विभिन्न ठाउँका वन क्षेत्रमा डढेलो बढेको छ । गत बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको सङ्ख्या बढेको हो ।
अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४÷२४ तथा बर्दिया र डोटीका २१÷२१ ठाउँमा सक्रिय डढेलो रहेको छ ।
कैलाली, कञ्चनपुर, उदयपुर, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ । गत पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ ।
जङ्गलमा फैलिएको डढेलोका कारण गत हप्ता काठमाण्डौ उपत्यकासहित देशभरको वायु प्रदूषण बढेर विद्यालय नै बन्द गर्नुपरेको थियो । अहिले वायु प्रदूषणको मात्रा केही घटे पनि जङ्गलमा डढेलो फैलने क्रम बढेकाले फेरि वायु प्रदूषणको जोखिम बढेको वातावारणविद्ले बताएका छन् ।
