Friday, June 19News That Matters

देशभर चिसो बढ्दै

पूर्णपुष्टि, कात्तिक २४

देशभरको तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको छ ।
आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८.७ डिग्री सेल्सियससम्म झरेको थियो ।

केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो ।
न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि काठमाण्डौमा भने २/३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष आजको दिन काठमाण्डौको  न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको थियो । २/३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको जनाईएको छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको जनाईएको छ ।
मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा बढी जाडो महशुस हुन्छ । राति आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने छ ।  यसैबीच अहिले काठमाण्डौसहित देशका पहाडी भेगमा हल्का कुहिरो लागेको छ ।

देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना महाशाखाले जनाएको छ ।