Friday, June 19News That Matters

चिसोमा हिटर कोइला र दाउरा बाल्न नहुने

पूर्णपुष्टि, कात्तिक २४ 

चिसो मौसममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
चिसोमा बालबालिकामा विशेषगरी, निमोनिया, रुघाखोकी, सिजनल फ्लू, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन काठमाण्डौ मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागले जनाएको छ ।

जाडो समयमा रोगप्रतिरोधात्मक क्षमता समेत कम हुन्छ । त्यसैले बालबालिकालाई तातो लुगा लगाइदिने, सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ ।
चिसो मौसममा फल्ने सुन्तला, जुनारलगायतका फलफूल पनि थोरै मात्रामा खुवाउनु राम्रो हुन्छ । यस्ता फलफूलले उनीहरुको छाला सुख्खा हुन पाउँदैन ।  चिसो भयो भनेर बालबालिकालाई लामो समयसम्म कोठाभित्र हिटर, कोइला वा दाउरा बाल्न नहुने जनाएको छ ।

लामो समय कोठामा दाउरा, कोइला तथा हिटर बालेर राख्दा अक्सिजनको कमी भएर स्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ । दाउरा, कोइला तथा हिटर बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । यसो गर्दा कोठाको बिकार हावा बाहिर जान्छ । र बाहिरबाट शुद्ध हावा भित्र छिर्न पाउँछ ।
बालबालिकालाई न्यानो कपडा लगाइदिने गर्नुपर्छ । तर गुम्स्याएर राख्नु भने हुँदैन । घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई त्यसबाट टाढा राख्नुपर्छ । नत्र बालबालिकालाई पनि सर्ने सम्भावना हुन्छ ।

नवजात शिशुलाई राख्ने कोठालाई २५ देखि २८ डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने डाक्टर जोशी बताउनुहुन्छ ।  बालबालिकालाई–बिहान र बेलुकाको चिसो हावामा घर बाहिर निस्कन दिनु हुँदैन । घाममा राख्दा समय समयमा पानी खुवाउने गर्नुपर्छ ।