
पूर्णपुष्टि/उदयपुर, फागुन २७ गते
उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित आयुष आयुर्वेदीक क्लिनिकले अबैधानिकरुपले स्वास्थ्य शिविर सञ्चालन गरेर सर्बसाधारण ठगी गरिरहेको छ । आफैमा अबैंधानिक रहेको उक्त क्लिनिकले सगरमाथा अञ्चल आयुर्वेदीक कार्यालय, गाईघाट र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट कुनै पनि स्विकृति नलिइ ठगी गरेको हो । फागुन २६ देखि २८ गतेसम्म सञ्चालन भनिएको शिविरमा गाउँगाउँबाट सर्बसाधारणलाई बोलाई शिविरको नाममा ठगी गरिरहेको स्थानीयले बताएका छन् ।
क्लिनिकका चिकित्सक डा. सुजित यादवले सम्बन्धीत निकायबाट स्विकृति लिई शिविर सञ्चालन गरेको भन्दै बचाउ गर्न खोजेका छन् । बैंधानिकताको कागज प्रमाण देखाउन नसकेपछि डा. यादवले क्लिनिक दर्ताको प्रक्रिया अगाडी बढिरहेको बताउनुभयो ।
अबैंधानिक ढंगले सञ्चालनमा रहेको सो आयुर्वेदीक क्लिनिकमा एक महिनाअघि प्रहरीले छापामारी डाक्टर र सञ्चालक पक्राउ गरेकोमा विनाकारवाही उन्मुक्ति दिएपछि उक्त क्लिनिकले अझै खुलेआमरुपले सर्बसाधारणलाई ठगी गरिरहेको हो । अबैंधानिक र सामान्य मापदण्डसमेत पुरा नगरी ठगी गरिरहेको अवस्थामा पक्राउ परेका चिकित्सव डा. सुजित यादव र सञ्चालक बाबुराम कार्कीको पक्राउ तथा कारवाहीको बारेमा प्रहरी, प्रशासनले सम्बन्धीत सगरमाथा अञ्चल आयुर्वेदीक कार्यालयलाई जानकारीसमेत नदिई उन्मुक्ति दिएको थियो । डा. सुजितको नाममा सञ्चालक बाबुराम आफैले अप्रेशनसम्मको काम गरेर विरामीलाई जोखिममा पार्ने र मोटो रकम असुल्ने गरेको पाइएको थियो । पिडित विरामीको पैसा फिर्ता गराउने सामान्य सर्तमा प्रहरीले उनीहरुलाई छाडेको बुझिएको छ ।
सञ्चारमाध्यमहरुमा सार्बजनिक भएको उक्त घटनाको बारेमा प्रहरी र प्रशासनले सामान्य जानकारीसमेत नदिएको गुनासो अञ्चल आयुर्वेदकि कार्यालय, गाईघाटका प्रमुख संजिवकुमार यादवले गर्नुभयो । प्रमुख यादवले उक्त क्लिनिक पूर्णतः अबैंधानिकरुपमा सञ्चालन रहेको बताउनुभयो । दर्ता नै नरहेको क्लिनिकले शिविर सञ्चालन गर्न नमिल्ने, शिविरका लागि स्विकृति चाहिनेमा त्यो समेत नलिएको बताउनुभयो ।
(भिडियो हेर्न यो लिंक खोल्नुहोला)
जनताको स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गर्ने दोषीहरुलाई सजिलै उन्मुक्ति दिनाले उपचारको नाममा खुलेआम ठगी गर्ने क्लिनिकहरु प्रशस्तमात्रामा मौलाइरहेको स्थानीय सम्भुकुमार चौधरीले बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले शिविरका लागि पत्रसमेत नकाटेको बताउनुभयो । उहाँले प्रशासनको तर्फबाट बुझेर आवश्यक कारवाही अगाडी बढाइने पनि बताउनुभयो ।