
पूर्णपुष्टि, फागुन २२ ।
सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा फागुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ परेको छ । पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ वर्षीय जीवन भनिने बिनेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।
फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाएसंगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल ईटहरी–५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको प्रहरीले जनाएको छ । यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई शनिबार बेलुका धनकुटाको पाख्रिवास–११ बाट प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
