Friday, February 14News That Matters

धरानलाई खानेपानी माग्दै मेयर हर्क साम्पाङ पुगे सिंहदरबार

पूर्णपुष्टि, माघ ८ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले खानेपानीको दीर्घकालीन समाधानको माग गर्दै मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धर्ना दिएका छन् । संघीय सरकारमाथि दबाब सिर्जना गर्न भन्दै उनी सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।

सिंहदरबार परिसरभित्र गाग्रीसहित प्रवेश गर्न नपाइने नियमका कारण उनलाई सुरक्षाकर्मीले गाग्रीविना मात्र प्रवेश अनुमति दिएका थिए । मेयर सम्पाङको आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटको कार्यक्रम रहेको छ ।

धरानमा लामो समयदेखि खानेपानीको गम्भीर समस्या छ । २०७७ फागुनमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरी खानेपानी व्यवस्थापन बोर्ड गठन गरिए पनि समस्या समाधान हुन सकेको छैन । यसअघि पनि मेयर सम्पाङले धरानको भानुचोकमा रित्तो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।

स्थानीय निवासीहरूले दैनिक पानीको अभाव झेल्दै आएका छन् र यो विषय हरेक चुनावमा प्रमुख मुद्दा बन्दै आएको छ । मेयर सम्पाङले पनि आफ्नो चुनावी अभियानमा खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । पानीको अभावका कारण धरानमा बेलाबेलामा स्थानीयबीच विवाद समेत हुने गरेको छ ।