Wednesday, June 3News That Matters

धाप्लाङमा अबैधरुपले वन उत्खनन् गरी गिट्टी संकलन

पूर्णपुष्टि (उदयपुर), फागुन २५ ।
उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङमा वन क्षेत्रमा उत्खनन् गरेर गिट्टी संकलन भइरहेको छ । अनाधिकृतढंगले वन क्षेत्रमा उत्खनन भएको स्थानीयले बताएका छन् ।
संकलित गिट्टी द कञ्चनजंगा/गोल्डन गुड जेभीले सञ्चालन गरेको क्रसर उद्योगमा प्रशोधन भइरहेको छ । जनशक्ति सामुदायिक वन उपभोक्ता समुह अन्तर्गतको वनक्षेत्रमा पर्ने बाझगरा भन्ने ठाउँमा डोजर चलाई टिफरहरुले क्रसरसम्म गिट्टी ओसार्ने गरिरहेको हो ।
प्रारम्भिक वातावरणीय परिक्षण (आइइइ) नगरी कुनै पनि ठाउँमा उत्खनन् गरी गिट्टी, बालुवा, ढुङ्गा, माटो जस्ता प्राकृतिक स्रोत निकाल्न पाइदैन । त्यहाँ सम्बन्धीत निकायले प्रारम्भिक वातावरणीय परिक्षण विना नै उत्खनन् भइरहेको स्थानीयले बताएका छन् । वन क्षेत्रमा त्यसरी उत्खनन् गर्न नपाइने डिभिजन वन कार्यालय उदयपुर गाईघाटका प्रमुख अम्बिका पौडेलले बताउनुभयो । धाप्लाङ क्षेत्रमा कुनै पनि प्रारम्भिक वातावरणीय परिक्षण (आइइइ) नभएको नगरपालिकाका राजस्व फाँटका प्रमुख गुरु ढकालले बताउनुभयो ।
सामुदायिक वनका उपभोक्ता तथा स्थानीयहरुलाई सडक फराकिलो पारिदिने, समुहलाई पैसा दिने सर्त राखेर क्रसरका लागि गिट्टी उत्खनन् भएको बुझिएको छ । वन समुहका अध्यक्ष बिर्खबहादुर मगरका अनुसार समुहसंग नसोधी उद्योगले उत्खनन् थालेको हो । स्थानीयले विरोध जनाएपछि सडक फराकिलो पारिदिने र समुहलाई तीन लाख रुपैया दिने सर्त राखिएको छ ।
रुख, बोट, विरुवाको संरक्षण, जंगली पशु, पंक्षीको संरक्षण तथा खेर जाने काठ, दाउरा संकलन गरेर आम्दानी गर्ने सामुदायिक वन क्षेत्रबाट गरिएको गिट्टी उत्खनन् अबैधानिक छ ।