
विक्रम राई, असोज ११ गते ।
उदयपुर – ध्वनीप्रदुषणमुक्त क्षेत्र बनाइ सहरलाई शान्त र स्वच्छ बनाउन ट्राफिक प्रहरीले उदयपुरमा अभियान सञ्चालन गरेको छ । अभियानकै क्रममा सदरमुकाम स्थित त्रियुगा नगरपालिका गाईघाटको मूख्यचौकमा “हर्न निषेधित क्षेत्र” लेखिएको ठूलो होर्डिङबोर्ड बिहिबार राखिएको छ ।
राजधानी लगायत देशको विभिन्न जिल्लामा यो अभियानले व्यापकता पाएसंगै प्रदेश नं. १ लाई असोज १ गतेदेखि हर्न निषेधित प्रदेश घोषणा गरिएको छ । सोही अनुरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आफ्नो क्षेत्रमा अभियान सञ्चालन गरिरहेको जिल्ला ट्राफिक इन्चार्ज शैलेन्द्र गच्छदारले बताए ।
विशेषगरी सवारी चालकहरुलाई सचेत गराई हर्न बजाउने कार्यलाई बन्द गर्ने र सहरलाई ध्वनी प्रदुर्षणमुक्त बनाउने अभियानको उद्देश्य रहेको छ । विगतमा अत्याधिकमात्रामा हर्न बनाई ध्वनी प्रदुर्षण हुने गरेको थियो । एकाविहानैदेखि दिनभर, रातभरसम्म हर्न बज्नाले जनजीवनलाई असर पुर्याएको भन्दै जनगुनासो आएपछि सरकारको एक अभिन्न अंग ट्राफिक प्रहरीले अभियान थालेको हो । यसअघि विद्यालय क्षेत्रमा हर्न निषेधित क्षेत्र तोकिएको थियो । तर अहिले सहरक्षेत्रमै हर्न निषेधित क्षेत्र बनाउन ट्राफिक लागी परेको छ ।
सवारी साधनको अत्याधिक चाँप रहेको काठमाडौंमा हर्न बजाउन छाडिसकिएको छ । क्रमिकरुपले देशको सबैजसो शहरमा अभियानको प्रभाव फैलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिकले होर्डिङबोर्ड राखेर, पर्चा पम्प्लेट टाँसेर र विद्यालयमा विद्यार्थी, शिक्षक, समुदायका बासिन्दाहरुलाई सचेतीकरण गरेर हर्न निषेध अभियानलाई अगाड बढाईरहेको छ ।
यस्ता कार्यक्रमहरु जिल्लाको कटारी, बेल्टार लगायत शहरी क्षेत्रहरुमा गरिने इन्चार्ज गच्छदारले बताए । उनका अनुसार पहिलोचरणमा सबैलाई ध्वनी प्रदुर्षणको असरबारे जानकारी दिई हर्न नबजाउन अनुरोध गरिने, पहिलो पटक कसैले गल्ती गरेमा सचेत गराई छाडिने र अटेर गरी पटकपटक गल्ती दोहोर्याउनेलाई कारवाही गरिनेछ । साना होस् या ठुला साना जुनसुकै सवारी साधनको हर्नबाट ध्वनी प्रदुषण हुने भएकोले गल्ती गर्दै सबै सवारी साधनका चालकलाई कारवाही हुने उनले बताए ।
जनजीवनको स्वस्थ्य र ठाउँको सभ्यतासंग जोडिएकोले सर्वसाधारणले अभियानलाई स्वागत गरेका छन् ।
प्रकाशित मिति – २०७४ असोज १२ गते ।