Thursday, May 21News That Matters

नक्कली प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

पूर्णपुष्टि, साउन ८ । प्रहरी अधिकारी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ बाटुलेचौर निवासी २१ वर्षीय सुजित क्षेत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार क्षेत्रीले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी रकम माग गरेको पाइएको छ। उनले आफूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी भएको दाबी गर्दै, ‘तपाईंहरूको केही काम छ भने भन्नुहोस्, गरिदिन्छु’ भन्दै रकम माग गरेको आरोप छ।

प्रहरीले आइतबार पोखराको लामाचौरबाट क्षेत्रीलाई पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले यस मामलामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको जनाएको छ।