Friday, February 14News That Matters

नक्कली प्रहरी इन्स्पेक्टर विरुद्ध ठगी मुद्दा दायर

पूर्णपुष्टि, माघ १८ ।  प्रहरी इन्स्पेक्टरको नक्कली परिचयपत्र र पोशाक प्रयोग गरी ठगी गर्ने तीन जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँका ४६ वर्षीय रत्न लामिछाने विरुद्ध ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

थापा र चौधरी पक्राउ परिसकेका छन् भने लामिछानेलाई फरार प्रतिवादी बनाइएको छ । प्रहरी अनुसन्धानबाट थापाले इन्स्पेक्टरको बर्दी लगाएर विभिन्न प्रहरी कार्यालयहरूमा समेत आउने-जाने गरेको र सक्कली प्रहरीको सलाम खाने गरेको खुलेको छ । प्रहरी चौकी नरेफाँटमा एक प्रहरी जवानसँग नक्कली इन्स्पेक्टर बर्दीमा फोटो खिचेको समेत भेटिएको छ ।

अनुसन्धानका क्रममा थापाले क्यानडा र अष्ट्रेलिया पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख ३० हजार रुपैयाँ ठगी गरेको तथ्य फेला परेको छ । उनले इन्स्पेक्टरको नक्कली परिचयपत्र, प्रहरी पोशाक र उच्च पदस्थ व्यक्तिहरूसँग खिचेका तस्बिरहरू देखाएर ठगी गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार फरार रहेका लामिछाने थापाका सहयोगीको रूपमा कार्यरत रहेका थिए भने चौधरीले इन्स्पेक्टर पदको नक्कली कागजात र विशेष बढुवासम्बन्धी कागजातहरू बनाउने काम गरेको आरोप छ । २२ पुसमा पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।