Thursday, May 7News That Matters

नयाँ नेतृत्वको खोजी

गोठकृष्ण ठकुरी

पूर्णपुष्टि, चैत्र ७

म एक नेपाली नागरिक हुँ । म एक मतदाता हुँ । म अहिले नेतृत्व गरिरहनु भएको सम्पुर्ण दलका तमाम नेता कार्यकर्ताज्युहरुलाई धन्यवाद दिन चाहान्छु । किनकी उहाँहरुले खुनपसिना एक गरेर यो देशको उज्जल भविष्यको सपना देख्नुभयो । सफलता पुर्वक देशलाई लोकतान्त्रिक गणतन्त्रमा अवतरण गराउनु भयो । नेपाली जनतालाई आफुभन्दा पनि सुसुचित गराउनु भयो । अहिले हरेक नेपालीले नागरिकता ग्रहण गरेको छ । हरेक नेपालीले मतदाता परिचय पत्र बनाएको छ । राज्यको नितिनियम अनुसार प्रत्येक व्यक्तिले राजस्व बुझाएको छ । यो देश मेरो हो, मैले नगरे कल्ले गर्छ भन्ने भावना प्रत्येक युवा पुस्तामा जागृत भएको छ । देश भलै प्रविधिमैत्रि नहोला तर प्रत्येक युवापुस्ता आज प्रविधिमैत्रि बनिसकेको छ । युवाहरुले देशको लागि पराई भुमिमा पसिना बगाएर रेमिट्यान्स भित्राएर देशको विकासमा अहम भुमिका निर्वाह गर्नु भएको छ । ती तमाम बैदेशिक रोजगारीमा रहनुहुने युवाहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

देशभित्रै रोजगारी प्राप्त गरी विभिन्न सेवा क्षेत्रमा रही कार्यरत संघ÷संस्थाका पदाधिकारी, संचारकर्मी, शिक्षक, कर्मचारी, व्यावसायी, कृषक, सम्पुर्ण जनसमुदाय जसले यो देशको लागि रातोदिन खटेर एउटा विकसीत राष्ट्र निर्माणको सपनामा लाग्नु भएको छ । उहाँहरु पनि मेरालागि उत्तिकै प्रेरणाका स्रोत हुनुहुन्छ । लोकतन्त्रको यो तीसवर्षको अभ्यासमा देशमा थुप्रै कामहरु प्रशंसा योग्य रहे । जस्तो कि सुचना प्रविधि, सडक, यातयात, सामाजिक संजाल, यी क्षेत्रमाहरुमा नसोचेको उपलब्धी हासिल भएको छ । साक्षरता दरमा बृद्धि भएको छ । प्रत्येक नेपाली जनताले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार, भेषलाई माया गर्न थालेको छ । संरक्षण गर्न थालेको छ । सबैले सम्मानित भएको महसुस गरेका छन् । नेपाली जनता खुलेर जिवनयापन गर्न बानी परिसकेका छन् ।

हाम्रो देशमा संस्कारको रुपमा विकास भइसकेको महिला हिंसा, छुवाछुत प्रथा जस्ता केही केही कुराहरु छन् जसलाई न्युनिकरण गरी निर्मुल पार्न सबै पक्ष लागि परेका छन् । यो तत्काल हासिल भइहाल्ने कुरा पनि भएन । तर सबैको बुझाई यो संस्कार गलत हो भन्नेमा छ । ढिलोचाँडो यो पनि फालिन्छ । यो मेरो विश्वास हो । अब म मेरो धारणा राख्न चाहान्छु । हामीले राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र नयाँ नेपाल घोषण गरियौँ । तर नयाँ नेतृत्व खोजेनौ । हामी जनताले गलत गरेको कुरा यहि एउटा मात्र हो । हामीले दललाई भोट हालियौँ । नेतालाई भोट हालेनौ त्यसैले पनि अहिले निरास हुनु परेको हो । यदि हामीले सहि नेतालाई चुन्न थाल्यौँ भने दलले पनि सहि उमेद्वारलाई टिकट दिन सुरु गर्ने छ । यसो भयो भने हामीले चाहेको नयाँ नेपाल निर्माण हुने छ । संघिय, प्रदेश र पालिका तिनै तहका शिर्ष नेताहरुमा जसो गरे पनि हामी नै हौँ भन्ने अहम छ । यसलाई तोड्नु पर्छ । उनीहरुको अहम पनि सहि हो । किनभने शासन पद्धति जुन बदलिए पनि विगत तीसवर्ष देखिको अनुहार हामीले भोगी रहेका छौँ । उनीहरुले जतिसुकै नयाँ सोच ल्याए पनि त्यो कहिँ न कहिँ पुरानै शैलीमा आउने हो ।

त्यसो त नेताहरुमा मात्र होईन । हामी जनतामा पनि पुरानै सोच कायमै छ । हामीले फरक गरेको भन्या त्यति हो कि हिजो राजालाई ढोग्यौँ आज नेतालाई । हामीले लोकतन्त्रको महत्वलाई बुझ्न सकेनौ । लोकतन्त्र भनेको आफु स्वतन्त्र हुनु मात्र होईन म जत्तिकै स्वतन्त्र मेरो अगाडिको व्यक्ति पनि हो भन्ने बुझ्नु पनि हो । चाहे त्यो महिला होस्, दलित होस्, आदिवासी जनजाति होस्, अपाङ्गता भएका व्यक्ति होस् वा तेश्रो लिङ्गी होस् सबैको लागि लोकतन्त्र हो । त्यसो भएकोले लोकतन्त्रले मान्छेलाई अझ बढि जिम्मेवार, अझ बढि सक्रिय, अझ बढि सृजनशील हुन प्रेरित गर्छ । किनकी अब तपाई हामी माथि कसैको हात छैन । अब कसैसँग झुक्नु पर्दैन र हिजो जस्तो हामी माथि कसैको दया र निगाहा पनि हुने छैन । विग्रे पनि सप्रे पनि जिम्बेवार तपाई हामी आफै हौँ । त्यसो हुँदा हामी सँधै सचेत रहनुपर्छ । दलहरु भनेको मेरो विचारमा एउटा फर्म मात्र हो । जसले हामीलाई देशका निम्ती काम गर्ने अबसर प्रदान गर्छ ।

अब हाम्रो परिक्षणको बेला आएको छ । चुनाव हुने घोषण भएको छ । आफु मालिक बनिरहेको यो समयमा आफुलाई मालिकबाट नगिराउनु होला । जुनदिनसम्म व्यालेटमा सहिछाप गर्नुहुन्न त्यसदिनसम्म सोच्नु होला । मालिक नै भइरहनु होला । यतिबेला फेरि बजारमा जातीभाई र साथीभाईको हल्ला    चलेको छ । त्यसैले राणा शासनको पाला जस्तो आफ्नै खुन आफ्नै जाती आफ्नै साथी त्यस्तो केहि नसोच्नु होला । यसले तपाई हामीलाई साँघुरो बनाउँछ । यसले तिनै वरीपरी मात्रै घुमाउछ । अलि माथि बसेर सोच्नुस् मालिक भएर विचार गर्नुस् । यस्तो छान्नुस्, उस्तो छान्नुस् त म भन्दिन किनकी मलाई थाहा छ । लोकतन्त्रको यहि एउटा खराब पक्ष हो । हामी आफु बुझ्दैनौ । अनि साथीभाई, जातिभाईले भनेको भरमा मत दिन्छौँ । अनि पछि थाहा हुन्छ हामीलाई कि फेरी पो गल्ती गरिएछ । त्यसैले बेलैमा सचेत हौँ ।

यतिबेला तपाई हामी एउटा मस्त जवान राम्री युवती हौँ । दल, र नेताहरु मस्त जवान युवकहरु हुन् । ती युवकहरुले हामीलाई जिस्काउँछन्, फकाउँछन्, पैसा दिन्छु भन्ला, रिचार्ज हालिदिन्छु, भन्ला । गाडिमा घुमाउँन लान्छु भन्ला । हो यो हाम्रो वर छान्ने बेला हो । कसैलाई त छान्नै पर्छ । उमेरमा नछाने कहिले छान्ने । तर के ति केटाहरुले जिन्दगी भरिकै लागि जीवनसाथी बनाउन फकाएका हुन् त ? कि एक दुईदिन बजार डुलाएर आफ्नो स्वार्थ पुरा भए पछि छाडिदिने हुन् ? विचार गर्नुस् । मन पर्छ भने डेटिङ जानुस् । एक पटक ति फुलको बजारमा मन चोर्न हिडेका जवानहरुलाई सोध्नुस् । तिमीले हाम्रो भविष्यको लागि के सोचेका छौ ? तपाईलाई चित्त बुझ्यो भने ठिक छ । होईन भने आफ्नो बाटो लाग्नुस् । नत्र यस्तो पनि हुन सक्छ । तपाईलाई मन परेको मान्छे छ तर उ जिस्काउँदैन । उ देखा पनि पर्दैन भने तपाईले उसलाई उर्जा दिनुस् । ताकि उ तपाईप्रति आकार्षित होस् । मेरो मनमा त छ ।

जसले मेरो समाज र देशलाई सुन्दर बनाईदिन्छ जस्तो लाग्छ । उसँग अर्जुन दृष्टि छ । उसँग विज्ञान छ । तर ऊ यो हल्ला, यो खेलदेखि दिक्क छ । यो खेलमा आउन चाहाँदैन । यस पटक म ति अर्जुनहरुलाई कृष्ण बनेर युद्धमा जान अभिपे्ररित गर्नेछु । भन्ने छु युद्धबाट भागेको भए अर्जुन योद्धा हुने थिएन । लाछि र डरपोक हुने थियो । के तिमी लाछि र डरपोक हुन चाहान्छौ ? होईन भने हिँड युद्धमा देखाईदेउ अर्जुन बनेर यसरी म उसलाई जगाउने छु । तपाईको मनमा पनि होला त्यस्तो मान्छे , तपाईको ठाउँमा पनि होला त्यस्तो मान्छे । तपाईको पालिकामा होला त्यस्तो मान्छे । खोज्नुस् । छान्नुुस् । रिचार्ज हाल्न नलाउनुुस् । पार्क घुम्न नजानुस् । खाजा खान नजानुस् । भेटमा भन्नु होला । अहिले पैसा खर्च नगर, बचत गर्ने गर, भोली हामीलाई नै चाहिन्छ । आउनुस् खोजौँ र बदलौँ नेतृत्व ।