
पूर्णपुष्टि/गाईघाट, उदयपुर, असार २ ।
उदयपुरका भर्खरै आएका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले आफ्नो कार्यकाललाई सुशासन, पारदर्शिता र सेवामुखी प्रशासनमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरमा मंगलबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ मगरातीले प्रशासनलाई नागरिकमैत्री र पत्रकारितामैत्री बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
उनले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सामान्य प्रकृतिका निवेदनहरू निःशुल्क रूपमा कार्यालयकै तर्फबाट लेखेर सहयोग गरिने व्यवस्था तत्काल लागू गर्ने जानकारी दिए । यसअघि आफूले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका अन्य जिल्लाहरूमा समेत यस्तो अभ्यास सफलतापूर्वक सञ्चालन गरेको उल्लेख गर्दै उनले बाहिर शुल्क तिरेर लेखाउनुपर्ने निवेदन कार्यालयमै निःशुल्क उपलब्ध गराउँदा सर्वसाधारणलाई राहत पुग्ने विश्वास व्यक्त गरे । 
प्रजिअ मगरातीले सञ्चारकर्मीहरूलाई सत्यतथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै पत्रकारिता क्षेत्रले समाजमा सही सूचना प्रवाह गरेर सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
उनले नागरिकले सूचना माग्नै नपर्ने वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सार्वजनिक सरोकारका सूचनाहरू कार्यालयको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा प्रकाशन गरिने बताए । यसबाट सूचना प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेश पत्रकार महासंघका सदस्य पर्शुराम थापा, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेल, सल्लाहकार भोटराज राई, उपाध्यक्ष विश्वराज तामाङलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले गरेका थिए ।
