Monday, July 6News That Matters

नयाँ वर्षमा ४ सय ५२ जनालाई विभूषित गरिँदै

आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये चार सय ५२ जनालाई विभूषित गर्नुहुने भएको छ ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यस समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने हुनुहुन्छ ।

राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट  मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २ सय ४२, जनसेवाश्री पञ्चम श्रेणीमा १ सय ४ तथा अलङ्कारतर्फ १ सय १४, पदकतर्फ २७ गरी जम्मा ५ सय ९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो ।

त्यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४ सय ५२ जनालाई आगामी वैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ३३ जनालाई विभिन्न पदकले सम्मान गर्नुभएको थियो । २०७७ को वैशाख १ मा प्रदान गर्नुपर्ने पदक कोरोनाले रोकिँदा गत शुक्रबार प्रदान गरिएको थियो ।