पूर्णपुष्टि, पोष ७ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा। भरतराज गौतम लगायत सहभागी हुनेछन् ।
