
पूर्णपुष्टि, जेठ ११ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा नव प्रभात नेपाल पोर्ताहा पुगेको छ । शुक्रबार भएको समुह चरणको अन्तिम खेलमा नव प्रभात नेपाल पोर्ताहाले आदर्श युवा क्लब उदयपुरगढीलाई ३–० गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
खेलको ७९ औं मिनेटमा जर्सि नं २ का डेविट चौधरीले फ्रिकिक मार्फत गोल गर्दै पोर्ताहालाई आग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा जर्सि नं १५ का आशिष थारुले गोल गर्दै पोर्ताहाको आग्रता दोब्बर बनाए भने अतिरिक्त समयको ९४ औं मिनेटमा जर्सि नं ६ का सम्बिधान राईले डि बक्स बाहिरबाट फ्रिकिक मार्फत पोर्ताहाका लागी तेस्रो गोल गरे ।
यस जितसँगै ४ अंक सहित समुह ख को उपविजेता बन्दै पोर्ताहा सेमिफाईनल पुगेको हो । यसअघि समुह क बाट गाईघाट समुह विजेता र बेल्टार उपविजेता बन्दै सेमिफाईनलमा पुगेको छ भने समुह ख बाट फ्युजन फुटबल क्लब बोक्से समुह विजेता बन्दै सेमिफाईनल पुगिसकेको छ ।
अब सेमिफाईनलमा समुह क को विजेता गाईघाट र समुह ख को उपविजेता पोर्ताहा बिच खेल हुनेछ भने समुह क को उपविजेता बेल्टार र समुह ख को विजेता फ्युजन बिच खेल हुनेछ । सेमिफाईनल खेल आईतबार हुनेछ भने फाईनल खेल मंगलबार हुनेछ । लिग विजेता टिमले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रुं ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।