पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते ।
नागरिक दवाव समूह लिम्चुङबुङले जनप्रतिनिधीको कार्यशैली र अभिव्यक्ति सुधारको माग गर्दै आइतबार गाईघाटमा पत्रकार सम्मेलन गरेको छ ।
नागरिक समाज, राजनीतिक दल, सरोकारवालाहरुसंग समन्वय नगर्ने, सल्लाह सुझाव नलिने र सूचना र अभिव्यक्ति दिने कुरामा गुनासो रहेको भन्दै पत्रकार सम्मेलनमार्फत सुधारको माग गरेका हुन् । सुधार नगरेमा आन्दोलन गर्नेसमेत जनाएको समूहले आफुहरुको आवाज गाउँपालिका, जनप्रतिनिधि र विकास विरोधी नभई कार्यशैली र केही आपत्तिजक अभिब्यक्तिको विरुद्धमा रहेको संयोजक टकमान राईले बताए ।
“हामी पारदर्शीता चाहन्छौं, नागरिक समाज, राजनीतिक दल र सरोरवालाको सल्लाह, सुझाव, समन्वय र सहकार्यबाट गाउँपालिकाको समग्र विकासका टेवा पुगोस् ।” संयोजक राईले भने “विरोधका लागि विरोध होइन, हामी पनि गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य, समन्वय गर्न चाहेका हौं ।” खासगरी, प्रगतिको सूचना माग गर्दा पुरा नपाएको, अध्यक्ष आप्mनै ढंगले चल्ने गरेको, उपाध्यक्षले सञ्चारमाध्यममा आपत्तिजनक अभिव्यक्ति दिएको गुनासो उनीहरुले व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनप्रति अध्यक्ष सकारात्मक
यस विषयमा गाउँपालिका प्रमुख मेजर राईले पत्रकार सम्मेलनलाई आफुले सकारात्मक रुपमा लिएको बताए । यो कुनै वादविवाद नभएर गाउँपालिकालाई कसरी राम्रो बनाउने, सबैले अपनत्वको आभास र जिम्मेवारी वहन गर्ने भावना र गाउँपालिकालाई नमुना बनाउनु पर्छ भन्ने धारणाको रुपमा पाएको बताए ।
“उहाँहरुको भावनालाई सम्बोधन गर्दै आगामी दिनमा सबैको सल्लाह सझाव अनुसार आडी बढ्ने मात्र नभई यथासक्य छिटो नागरिक दवाव समुहको भावना अनुरुप सार्बजनिक सुनुवाई गरेर जिज्ञासा मेटाउने र सम्बोधन गर्नेछु” प्रमुख राईले भने । सार्बजनिक सुनुवाईका लागि कर्मचारीलाई निर्देशनसमेत दिइसकेको उनले बताए ।
उपाध्याक्षको प्रष्टोक्ती
उपाध्यक्ष रमिला राईले जनगुनासोको सम्मान गर्दै गलत आसय र नियतले अभिव्यक्ति नदिएको प्रष्ट्याएकी छिन् । “मेरो नाम जोडिएर मिडयामा आएको अराजक शब्दले उहाँहरुमाथि चोट पुग्दा मलाई कति पनि राम्रो लागेको छैन । मैले उहाँहरुलाई दोषी देखाएर र अपमानि गर्ने नियतले भनेको हुदै होइन । खाली के मात्र हो भने सूचना लिने र दिने पक्षबीच असमान्जस्यता बढ्दै जाने हो भने अराजकता पैदा हुनसक्छ त्यसैले त्यसतर्फ भन्दा पनि सहिढंगले सूचना दिने र लिने काम गर्नुपर्छ, भन्ने नियतले मात्र मिडियामा अभिब्यक्ति दिएकी हुँ ।” उनले भनिन् ।