पूर्णपुष्टि, कात्तिक ९ गते ।
गाईघाट-प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि विहिबार उदयपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय एकसाथ स्थापना गरिएको छ ।
निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन गर्न लागेको ४५ जिल्ला मध्ये उदयपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समिति उदयपुरको कार्यालय भवनको दुईओटा कोठामा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उदयपुरमा मुख्य निर्वाचन अधिकृत न्यायधिस तेजेन्द्रप्रसाद शर्मा तोकिएका छन् । उनले मुख्य निर्बाचन अधिकृतको भुमिका संगै क्षेत्र नं. १ र त्यस अन्तर्गतका २ वटा प्रदेशको जिम्मेवारी सम्हाल्ने छन् ।
क्षेत्र नं. २ र त्यस अन्तर्गतका २ वटा प्रदेशका लागि निर्वाचन अधिकृत सर्बोच्च अदालतका उपसचिव सन्देश श्रेष्ठलाई तोकिएको छ । कार्यालय स्थापनासंगै मुख्य निर्वाचन अधिकृत शर्मा र निर्वाचन अधिकृत श्रेष्ठले पदभार सम्हाल्दै आजकै दिनदेखि उदयपुर निर्वाचनमय जान उद्घोष गरे ।
कार्यालय उद्घाटन समारोहमा बोल्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला मुख्य न्यायाधिश शर्माले निर्वाचनलाई सफल तुल्याउन सम्पूर्ण सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । उनले कार्यालय स्थापनासंगै कामाकाज तदारुकता साथ अगाडी बढेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष खडग बहादुर परियारले जिल्लामा स्थानिय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको उदाहरण दिदै सोही प्रकारले सवै पक्षको समन्वयलाई ध्यानमा राखेर आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको जानकारी दिदै जिल्लामा १ लाख ९३ हजार ९ सय १३ मतदाता रहेको बताए । स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ लाख ७१ हजार ४ सय ६१ रहेको थियो । अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खडकाले जानकारी गराए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति थियो ।