Friday, January 24News That Matters

नि. प्रजिअ, वडाध्यक्ष र प्रशासकीय अधिकृतले ढोका ढप्ढकाए

पूर्णपुष्टि/उदयपुर, फागुन ३० गते

-बुधबार विहान जिल्ला प्रमख निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, त्रियुगा नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु विश्वराज भट्टराई, प्रकाश खड्का लगायतको एक समुहले गाईघाट बजारको पुरानो पेट्रोलपम्प लाईनमा एक घरको ढोका ढप्ढकाई रहेका भेटिए ।

पक्कीघरको अगाडी असभ्यढंगले फोहोर फालिएको देखेपछि ढोका ढप्ढकाएका उनीहरुले केहीबेरपछि निस्किएका घरवेटीलाई राम्रो पक्कीघरलाई अगाडीको फोहोरले असोभनीय पारेको भन्दै सम्झाए । त्यस्ता फोहोरले एउटा घरमात्र हैन सिंगो शहर नै असभ्य, दुर्गन्धित हुने भएकोले सबै नगरबासीले सरसफाईमा ध्यान दिन अनुरोध गरे । घरबेटीले आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा बजार अनुगमनका लागि निस्किएको उक्त टोलीले सरसफाईप्रतिसमेत चासो दिदै अनुगमनको कार्य गरेको थियो । टोलीले विभिन्न खाद्यान्न किराना पसल, मासु पसल, डेरी लगायतमा अनुगमन गरेको थियो । विषयगत कार्यालयहरु कृषि, पशु, जनस्वस्थ्य, प्रहरी, नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ लगायत सम्मिलित टोलीले अगुगमन गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी, नगरअधिकृत, सम्बन्धीत कार्यालय प्रमुखहरु, प्रहरी, पत्रकार, वाणिज्य संघका प्रतिनिधिहरुले किराना पसलहरुमा म्यान नाघेका उपभोग्य बस्तु, अद्याध र मिसावटको चेकजाँच गरी पसलेहरुलाई त्यस्ता वस्तु विक्रीवितरण नगर्न चेतावनी दिएका थिए । व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न सुझाउदै उनीहरुले आगामी दिनमा गल्ती फेला परेमा कानूनी कारवाही हुनेमा सचेत गराएका थिए । मासु पसलहरुमा सरसफाईको कमी पाएको टोलीले विशेष सरसफाईमा ध्यान दिन र धुलोमैलो लाग्ने सडक किनारमा पशु बद्य नगर्न र विक्री वितरण नगर्न सचेत गराएको थियो । व्यवस्थितरुपले कोठामा मासु स्वच्छरुपले विक्री गर्न सचेत गराएका थिए ।

डेरीहरुमा स्वच्छ र स्वस्थ्य दुध, दही, मही, घ्यू तथा दुधजन्य परिकारहरु राख्न र सहीरुपले विक्री वितरण गर्न सुझाव दिएका थिए । सरसफाई र सुरक्षित राख्नमा विशेष ध्यान दिनु सुझाउदै टोलीले अन्य होटल, पसलहरुमा समेत उपभोक्ताहरुको स्वास्थ्यमा अधिकतम मध्येनजर गरेर व्यवसाय गर्न सचेत गराएका थिए ।

टोलीले गाईघाट बजार क्षेत्रका सरसफाईको अवस्थालाईसमेत अनुगमन गर्दै घरअगाडीको फोहोर फाल्नुको सट्टा व्यवस्थितरुपले बोरा वा बास्केटमा राख्न अनुरोध गरेका थिए । घरअगाडी सडकमा फोहोर फेला परेका घरका सदस्यहरुलाई सडकमै बोलाई फोहोरले घरको इज्जत ओझेल पारेको भन्दै सम्झाइ बुझाइ गरिएको थियो । त्यसक्रममा घरका सदस्यहरुले आगामी दिनमा फोहोर फाल्ने कार्य नदोहोर्याउने प्रतिबद्धता जनाएका थिए ।

विश्व उपभोक्ता अधिकार दिवसको अघिल्लो दिन बुधबार विहान ६ वटा मासु पसल, ३ वटा डेरी, होटल ५ , किराना पसल १४ वटा पसलमा अनुगमन भएको प्रशासन कार्यालय उदयपुरले जनाएको छ । बिहिबार भव्यरुपले दिवस मनाइ अनुगमन कार्यलाई निरन्तरता दिइने पनि प्रशासनले जनाएको छ ।