
पूर्णपुष्टि, माघ २९ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२४ मा नेपाल एक स्थान तल झरेको छ । गत वर्ष १०८ औं स्थानमा रहेको नेपाल यस वर्ष १०७ औं स्थानमा पुगेको छ ।
गत वर्ष नेपालले ३५ अंक प्राप्त गरेकोमा यस वर्ष एक अंक घटेर ३४ मा झरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको मूल्यांकन अनुसार ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरू भ्रष्टाचारग्रस्त देशको सूचीमा पर्छन् । यस हिसाबले नेपाल पनि भ्रष्टाचारग्रस्त मुलुककै श्रेणीमा परेको छ ।
विगत १२ वर्षको सर्वेक्षण इतिहासमा यो नेपालको लागि सबैभन्दा कमजोर प्रदर्शन हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न ६ वटा विभिन्न क्षेत्रमा सर्वेक्षण गर्ने गर्छ । संस्थाले आफैं प्रत्यक्ष सर्वेक्षण नगरी विभिन्न संस्थाहरूको अध्ययन प्रतिवेदनलाई आधार बनाउँछ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार भ्रष्टाचार नेपालको प्रमुख समस्या बनेको छ र यसले मुलुकको शासन व्यवस्थामा गम्भीर चुनौती सिर्जना गरेको छ । उनले भ्रष्टाचार नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।
संस्थाले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारको आम धारणा बटुल्ने क्रममा विभिन्न संस्थाहरुले गर्ने सर्वेक्षणलाई आधार बनाउँछ । यी सर्वेक्षणमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने प्रश्नहरूको विश्लेषण गरी भ्रष्टाचार अवधारणा सूचकांक तयार पारिन्छ ।