Monday, June 16News That Matters

नेपालटारमा आज एक दिने कृषि मेला हुदैँ

पूर्णपुष्टि, माघ २४ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटार बजारमा आज एक दिने स्थानीय परिकार तथा कृषि प्रदर्शनी मेला हुदैँछ । उदयपुरगढी गाउँपालिका र सहास नेपालको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्थानीय उत्पादन तथा परम्परागत खाद्य परिकारहरूको प्रदर्शनी गरिने भएको छ ।

नगर कृषि अधिकृत पारशमणी फुयाँलका अनुसार मेलामा रैथाने बालीका बिउबिजन, स्थानीय स्तरमा उत्पादित ताजा फलफूल तथा तरकारी, मौलिक एवं परम्परागत खाद्य परिकार, घरेलु हस्तकलाका सामान लगायत दैनिक भान्साका लागि आवश्यक विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिने छन् । ‘यस मेलाले स्थानीय भण्डारण प्रणालीको महत्व, दैनिक जीवनमा यसको प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ, अधिकृत फुयाँलले बताए ।

आयोजकहरूले मेलामा उदयपुरगढी गाउँपालिकाका स्थानीयसहित छिमेकी त्रियुगा नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाका बासिन्दाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेका छन् । साथै जिल्लाका अन्य स्थानीय तहका बासिन्दाहरू समेत मेलामा सहभागी हुने अपेक्षा गरिएको छ । मेलाले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्नुका साथै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूले लिएका छन् ।