
पूर्णपुष्टि, चैत २०
नेपालमा छैटौं कोरोना भाइरस सक्रमित एक बृद्ध फेला परेकी छिन् । उनी बागलुङकी ६५ वर्षीया बृद्धा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार पुष्टि गर्नुभयो । कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको उहाँले जानकारी दिनुभयो । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।
अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए ।
यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट पछि सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको बताइएको छ ।
बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन । तर अहिले संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ । नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।
