Thursday, May 28News That Matters

नेपालमा रहेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, चैत्र ३० गते । 

पर्साको वीरगञ्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । उक्त मध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाले जनाएको छ ।

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको जनाईएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा निबासी हुन् । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।