
पूर्णपुष्टि, बैशाख २७ गते ।
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको प्रति त्यसको विरोधमा उत्रेका ३३ जना विद्यार्थी पक्राउ परेका छन् । लिपुलेकमा भारतले सडक बनाएको प्रति विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विरोधमा उत्रेका विद्यार्थीहरुलाई लकडाउनको उल्लंघन गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । त्यही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, मेघनाथ चापागाईंँ, अशोक थापा लगायत पक्राउ परेका हुन् ।
नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका संघीय रक्षा मन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका थिए ।
