
पूर्णपुष्टि, पुष २७ । उदयपुरमा नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढी पैदल यात्रा शनिबार सम्पन्न गरेको छ । गत आईतबार श्री पशुपति प्रसाद गण बोक्सेले उदयपुरगढीबाट सुरु गरेको पैदलयात्रा आज चौदण्डीगढीको ऐतिहासिक स्थल उदयपुरगढीमा पुगरे ८५ किलोमिटर लामो पैदल यात्रा पुरा गरेको हो ।
उदयपुरगढी दरबारबाट सुरु गरिएको पैदल यात्रा उदयपुरगढी गाउँपालिका वडा नं. ४ डुम्रे, वडा नं. ५ ढुङग्रे (भिरगाउँ), रौतामाई गाउँपालिका ८ पुवाँरे भञ्ज्याङ, वडा नं. ४ पोखरी, त्रियुगा नगरपालिका वडा नं. १४ निपाने, चौदण्डीगढी वडा नं. ८ सिम्ले, वडा नं. ७ बिरेन्द्रबजार हुँदै वडा नं. १ को ऐतिहासिक तथा पर्यटकीय स्थल चौदण्डीगढी पुगेर पुरा गरिएको हो ।
पशुपती प्रसाद गणका गणपती शिव प्रसाद वाग्लेका अनुसार जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरु चिनाउँदै जिल्लाबासीसँग सेनासँग सम्बन्ध सुमधुर बनाउने उदेश्यले पैदलयात्रा आयोजना गरिएको हो । समापन कार्यक्रममा स्थानीय तह स्तरीय हाजीरी जवाफ, कविता, वक्तृत्व कला र निवन्ध लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण, यात्राको समीक्षा तथा कार्यक्रममा योगदान दिनेहरुलाई सम्मान, मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, रौतामाई गाउँपालिकाका प्रमुख बिरेन्दु कुमार मगर, उदयपुरगढी गाउँपालिकाका उपप्रमुख जित बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, १८ नं. अड्डा भुल्केका बाहिनिपति, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाई लगायतको उपस्थिति रहेको थियो ।