Sunday, June 21News That Matters

नेपाल पत्रकार महासंघले जारी गरेको कोरोना कोभिड १९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं ।

कोरोना कोभिड १९  को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु– 

– Covid-19 भन्नाले Co = Corona, Vi = Virus, D = Disease र 19 भन्नाले २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । कोरोनाको दोस्रो लहर पहिलोभन्दा जोखिपूर्ण हुदै गएको छ । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं ।

–आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौं । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।

–कोरोना भाइरसको दोस्रो लहरका बारेमा प्रसस्त च गरौं, सूचना लिउँ र दिउँ । कोरोना भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरुका बारेमा लेखौं । तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । संक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं ।

– कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं । तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई अपराधिकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ । हामीले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छौं भन्ने कुराको ख्याल गरौं ।

– वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरुलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरुमा पनि शेयर नगरौं । सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरुले दिएका सुझावहरुलाई पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं ।

– कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं । साना साना कदमहरुले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौं । सकारात्मक समाचारहरुले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरु सम्प्रेषण नगरौं ।

– संक्रमणको महामारी (Epidemic) भन्दा सूचनाको महामारी(Epidemic) चाँडो फैलन्छ । यसले मानिसहरुमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरुप्रति भेदभावको अवस्था पनि सृजना हुनसक्छ । संक्रमणमा परेका व्यक्ति वा बढी प्रभावित समुदाय वा क्षेत्रलाई हामी सबैको सहयोगको खाँचो छ । सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ ।

– कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरुका बारेमा सूचना सम्प्रेषण गरौं । साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं ।

– गलत सूचना प्रवाह, बुझाईमा कमजोरी र अतिरञ्जनापूर्ण प्रचारले एकातर्फ विभेद र लाञ्छनाको अवस्था सृजना गरिरहेको हुन्छ भने अर्कातिर संक्रमण रोकथामका लागि हुने कामहरुमा बाधा पु¥याइरहेको छ । यस्तो अवस्थामा मानिसहरु आत्तिनु स्वभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं । रोकथामका उपायहरुको प्रचार प्रसार गरौं । साथै चाँडो जाँच र उपचार गर्दा जीवन जोगिने कुरा पनि सबैलाई बताऔं ।

– संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसैले संक्रमणमा परेका व्यक्ति, समुदाय वा क्षेत्रका बारेमा सकारात्मक सूचना सम्प्रेषण गरौं । उनीहरुका मानवीय पक्ष र विषयहरुलाई समाचारको विषयवस्तु बनाऔं । साथै संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, आदि) प्रति सहयोग पुग्ने र उनीहरुलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।

– त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं ।

– शब्द प्रयोगमा ध्यान दिऔं । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुनसक्छ ।

– कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरु, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरुको उपचार र हेरचाहमा संलग्नहरुका समाचार र अनुभूति प्रकाशन प्रसारण गर्दा कोरोना लागि हालेपनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन् । उनीहरुलाई सम्मान गरौं र उनीहरुका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं ।

– कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरुलाई मिडियामा उचित स्थान दिने गरौं, यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस् ।

अन्त्यमा, आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं

–    कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं ।

–    सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।

–    सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं

–    अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं

–    समय समयमा साबुन पानीले हात धुने गरौं ।

–    अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौं ।

–    भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं ।

–    सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔं ।

–    श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।

–    सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।