Saturday, April 26News That Matters

नेपाल शिक्षक संघ उदयपुरद्वारा भोलीदेखि आम शैक्षिक हडतालको घोषणा

पूर्णपुष्टि, चैत्र २४ । नेपाल शिक्षक संघ उदयपुरले (भोली) सोमबारदेखि आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ । आइतबार संघका अध्यक्ष सुवास बिष्टले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय कार्यसमितिको आह्वानमा गत चैत्र २० गतेदेखि जारी सडक आन्दोलनमा सरकारबाट प्रभावकारी सुनुवाई नभएको भन्दै आम हडतालको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार गुणस्तरीय विद्यालय शिक्षा तथा विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन र आन्दोलनलाई अझ सशक्त बनाउनका लागि आम शैक्षिक हडताल गर्न लागिएको हो ।

संघले जिल्लाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ८ को आधारभूत तहको परीक्षा (बिएलई) अन्तर्गत उत्तर पुस्तिका परीक्षण कार्यमा सहभागी नहुन तथा आन्दोलनलाई निर्णायक बनाउन अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेको छ । साथै, विज्ञप्तिमार्फत विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सरोकारवालाहरूलाई पनि आन्दोलनमा एकबद्धता जनाउन अनुरोध गरिएको छ ।