
पूर्णपुष्टि, फागुन १८ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो कार्यकालमा न्यायालयप्रति जनताको विश्वास मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बार इकाई उदयपुरले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश राउतले न्यायिक सुशासनका लागि दत्तचित्त भएर काम गर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले आम मानिसको न्यायालयप्रति विश्वास टुटेको अवस्थामा जनताले न्यायको अनुभूति गर्ने गरी काम गर्नेछु। पवित्र उद्देश्य राखेर संकल्प गरौं भने न्यायालय सुधार हुन नसक्ने भन्ने कुरै हुँदैन ।’ त्यसका लागि न्यायाधीशलाई कानुन व्यवसायीहरूको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए ।
प्रधान न्यायाधीश राउतले आठ वर्ष नाघेका ७२ वटा मुद्दा असार मसान्तसम्म शून्यमा झार्ने लक्ष्य राखेको जानकारी दिए । उनले २०८३ सम्ममा पाँच वर्ष नाघेका सबै मुद्दा र २०८५ सम्ममा दुई वर्ष नाघेका सबै मुद्दा टुंग्याउने योजना रहेको बताए ।
उनले हरिकृष्ण श्रीमानको पालादेखि न्यायालय पूरै लयमा फर्किएको उल्लेख गर्दै नयाँ प्रविधिको विकाससँगै न्यायालयको आन्तरिक संरचनाभित्र समस्या सिर्जना गर्न खोज्नेहरूबारे पनि चिन्ता व्यक्त गरे । उनले आफ्नो फेक ट्विटरको प्रसंग उठाउँदै न्यायाधीश मात्र होइन, कानुन व्यवसायीहरूले पनि साइबर र आईटी सम्बन्धी ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रधान न्यायाधीशले गाईघाटमा चार बिगाहभन्दा बढी जग्गा उपलब्ध भएमा बाल सुधार गृह निर्माणको काम तत्काल सुरु गरिने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिसँग जग्गा खोज्न आग्रह गरेको र जग्गा प्राप्त हुनासाथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइने उल्लेख गरे ।