
पूर्णपुष्टि, भदौ २३
पत्रकारको नक्कली परिचयपत्र बनाउने र पत्रकार नभएकाले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ ।
कोरोना संक्रमणको जोखिम रोक्न जारी गरिएको निषेधाज्ञाको बेला पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
केही दिनअघि ललितपुरमा प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामेरा समाउँदै अर्को हातले प्रहरीलाई ढुङ्गा हानिरहेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाही थालेको छ । पत्रकार नभएका व्यक्तिले पनि गाडीमा प्रेस टाँसेर हिँड्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।
आज काठमाण्डौको बागबजारमा पत्रकारको नक्कली परिचयपत्र बनाउँदै गरेको अवस्थामा केही व्यक्ति पक्राउ गरेको थियो । यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ ।
नवलपरासीका लक्ष्मण न्यौपानेले बागबजारमा सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालीमार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचयपत्र बनाइ प्रतिकार्ड पाँच सय रुपैयाँभन्दा बढीमा बिक्री वितरण गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ ।
बर्दिया घर भइ कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपुरासी सुस्ता पूर्व कावासोती घर भइ काठमाण्डौ भीमसेनगोला बस्ने रमेशकुमार रेग्मी, स्याङ्जा जगत्रदेवी घर भइ धापसी बस्ने राजेन्द्रराज भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा बुझाइएको छ । उनीहरुबाट विभिन्न मिडिया, अस्पताल र प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तथा परिचयपत्र बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा आएका जथाभाबी सूचना प्रवाह गरेर र युट्युबमा आएका सामग्रीलाई हेरेर मानिसले पत्रकारका विषयमा नकारात्मक धारणा बनाउने गरेका छन् । यस्ता घटनाले वास्तविक पत्रकार प्रभावित हुँदै आएका छन् ।
पत्रकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुने भन्दै पत्रकार महासङ्घले त्यस्ता गतिविधि रोक्न सरकारसँग अनुरोधसमेत गर्दै आएको छ ।
