Friday, May 1News That Matters

पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु, तिन घाईते

पूर्णपुष्टि, साउन ८ । बैतडीको पुर्चौडी नगरपालिका २ को भैरुवामा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

मृत्यु हुनेमा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । प्रहरी प्रमुख चौधरीका अनुसार घाईते हुनेमा मृतक अन्जुका ४५ बर्षीया सासुआमा राइमती, १७ बर्षीय देवर गोब्बर जागरी र पाहुन बस्न आएकी ६० बर्षीय छिमेकी जस्मा बोहरा रहेका छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले घर पुरिएको पुर्चौडी–२ का वडाध्यक्ष चक्रबहादुर बमले बताए । केही महिना अगाडी खनिएको उक्त सडकको माटो किनारमै रहेको र वर्षाले थुपरिएको माटोसहित सडक नै भासिएर पहिरो झरेको उनले बताए । मृत आमाछोराको शव पोष्टमर्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए। घर पूर्ण क्षति भएको र करब एक दर्जन चौपाया समेत मरेको उनले जनाए ।