
पूर्णपुष्टि, बैशाख १३ गते ।
पाकिस्तानमा आगामी मे ९ सम्मको लागी लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमित थपिने क्रम जारी भएकाले पाकिस्तानी सरकारले मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो ।
देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ११ हजार ६ सय ५२ रहेको छ ।
त्यसैगरी देशभरि कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको मृत्यु भईसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार आठ सय ५१ जना संक्रमित भेटिएका छन् ।
आजदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।
