
पूर्णपुष्टि, चैत १३ ।
पानीमा डुबेर दुई जनाको ज्यान गएको छ । सुनसरी र ओखलढुङगामा पानीमा डुबेर दुई जनाको ज्यान गएको हो ।
सुनसरीको ईटहरी–१५ आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरीको ज्यान गएको हो । अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका बालक अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुबाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।
त्यसैगरी, ओखलढुङगाको मानेभञ्ज्याङ गाँउपालिका–९ का २५ बर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बेलुका ५ बजे घरबाट हिडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको हो । स्थानीयले घटनाको जानकारी गराएसँगै जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
