
पूर्णपुष्टि, साउन ९ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरी अनुसन्धानबाट घरमै काम गर्ने युवकको संलग्नता खुलेको छ। रायको हत्या २१ वर्षीय रामउजैन रायले गरेको पाइएको हो।
प्रहरी स्रोतका अनुसार अनुसन्धान लगभग सकिएको छ र युवकले हत्या गरेको पुष्टि भएको छ। प्रहरीका अनुसार हत्या गर्दा युवकले लगाएका कपडाहरू रगत लागेको अवस्थामा लुकाएको पाइएको छ। यसअघि प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार पनि बरामद गरिएको थियो।
हत्या भएको आइतबार राति साढे ९ बजेतिर तीन जना व्यक्ति जग्गाको विवाद मिलाइदिन भन्दै रायको घरमा आएको बयान रामउजैनले प्रहरीलाई दिएका थिए। तर, ती तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्या व्यक्तिगत रिसइबीका कारण भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ। ८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए।
