
पूर्णपुष्टि, फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक साता बिताएपछि आज दिउँसो काठमाडौं फर्किन लागेका छन् । उनको स्वागतका लागि राजावादी दल र समूहहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । यसलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
बिहानैदेखि काठमाडौंका संवेदनशील स्थानहरू जस्तै नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलको गेट अगाडि भेला हुने योजना बनाएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक तामाङले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए । “जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं,” उनले भने ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भिड अनियन्त्रित हुन नदिन आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । आवश्यक परेमा चारवटै सुरक्षा निकाय परिचालन गरिने बताइएको छ । हाल काठमाडौंका विभिन्न चोकहरूमा बर्दीसहितका तथा सादा पोशाकका गुप्तचर टोलीहरू परिचालित छन् ।