
पूर्णपुष्टि,वैशाख २३
कास्कीको पोखरामा उपचाररत चारजना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार राति र बिहीबार बिहान गरी कुल चारजनाको ज्यान गएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् ।
चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार ज्यान गएको हो । उक्त पुरुषमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।
मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
अस्पतालकाअनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे ज्यान गएको हो । उनमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो ।
पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति ज्यान गएको हो । उनमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।
म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० बजे ज्यान गएको हो । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।
