
पूर्णपुष्टि, साउन १८ । उदयपुरको त्रियुगा नगरपालिका–१३ पोर्ताहस्थित मुसहर बस्तीका दुई घर बाढीका कारण उच्च जोखिममा परेका छन् । गएरातिदेखी निरन्तर बर्षा भएपछि सुरज कुमार सदा र जगत सदाको घर बाढीका कारण उच्च जोखिममा परेको हो ।
एकै स्थानमा सँगै रहेका यी दुई घरलाई वर्षाका कारण कुलोमा आएको पानीको भलले चारैतिरबाट घेरेको छ । पानिको भलले आँगनको बिचभाग कटान गरेको छ भने सुरज कुमार सदाको घरको एक छेउको भित्ता पूर्ण रुपमा कटान गरेको छ । घर अगाडिको कुलो र पछाडिको नालाले घरलाई दुबैतिरबाट कटान गरेको छ ।
सुरज कुमार सदाको तीन जनाको परिवार र जगत सदाको चार जनाको परिवार गरी सात जना विस्थापित हुने उच्च सम्भावना रहेको छ । फेरि ठूलो वर्षा भएमा यी घरहरू पूर्ण रूपमा भत्किने जोखिम रहेको स्थानीयहरूले बताएका छन् । घरहरूमा देखिएको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएर कुलोमा थुनछेक गरेर पानीको भललाई नियन्त्रण गरेका थिए । मुसहर बस्तीका अन्य घरहरू पनि वर्षाको कारण डुबानमा परेको छ ।
फोटो फिचर:


