पूर्णपुष्टि, कार्तिक २८ गते ।
खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा सिराहाका तीन जना बालकको मृत्यु भएको छ । जिल्लाको मिर्चैया नगरपालिका–१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत–२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज–२२ बस्ने नन्दलाल दासका छोरा १० वर्षीय नितेशकुमार दास छन् ।
पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
