Sunday, March 16News That Matters

प्याब्सन महाधिवेशनमा एमालेको सर्कुलर विवादमा

पूर्णपुष्टि, फागुन १८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आसन्न केन्द्रीय महाधिवेशनमा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले टिकाराम पुरी नेतृत्वको समूहलाई जिताउन जारी गरेको सर्कुलर सार्वजनिक भएपछि विवाद बढेको छ ।

फागुन ११ गते जारी गरिएको उक्त सर्कुलरमा प्याब्सनको फागुन २६ र २७ गते काठमाडौंमा हुने महाधिवेशनमा निवर्तमान अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार पुरीलाई विजयी बनाउन प्रदेशका १२ वटै जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको छ ।

कोशी प्रदेशका एमाले कार्यकर्ता पुरीलाई विजयी गराउन जिल्ला र मातहतका कमिटी तथा पार्टी पंक्तिलाई समन्वय र सहयोग गर्न भनिएको छ। सर्कुलरमा पार्वती रावत, भोजबहादुर शाह, टिकाराम पुरी र कृष्ण खनालसंग सम्पर्क गर्न भनिएको छ । यो गोप्य सर्कुलर कसरी बाहिरियो भन्ने प्रश्नले एमाले लुम्बिनीमा तरंग ल्याएको छ ।

प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्ण शर्माले “प्याब्सनलाई कुनै दलको भातृ संस्था जस्तो बनाउने गरी एमाले लुम्बिनीले जारी गरेको सर्कुलुर खेदजनक र आपत्तिजनक” भएको बताएका छन् । उनका अनुसार यस्तो सर्कुलरले एमालेकै अन्य कार्यकर्ताहरूको उम्मेदवार बन्न पाउने अधिकारलाई कुण्ठित गरेको छ । प्याब्सनको महाधिवेशनमा वर्तमान अध्यक्ष डिके ढुंगाना, वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायत पनि अध्यक्षका दावेदार छन्। फागुन २१ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।