
पूर्णपुष्टि, माघ २२
प्युठानमा जन्ति लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट मृत्यु हुनेमा गौमुखी गाउँपालिका–६ लिवाङका ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको थियो भने सोहि ठाउँका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए ।

घाईते हुनेहरूमा गौमुखी गाउँपालिका–६ का बेहुला २५ वर्षीय दानबहादुर खड्का, नौबहिनी गाउँपालिका–६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका–६ लिवाङका १७ वर्षीय नरेश खड्का, र सोहि ठाउँको २१ वर्षीय हरि बुढामगर रहेका छन् ।घाइतेहरु
मध्ये बेहुलाबाहेक सबैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

