पूर्णपुष्टि/मंसीर ३ गते ।
काठमाडौं–पूर्वप्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डलाई) आइतबार पुत्र शोक परेको छ ।
प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । तीनदिनयता अस्वस्थ रहेका उनी चुनावी प्रचारमा नगईकन आरामका लागि घरमै थिए । शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका उनलाई आइतबार विहान सुतेको ठाउँमा अचेत अवस्थामा देखिएपछि नर्भिक अस्पताल पुर्याईएको थियो ।
पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । प्रकाशको मृत्युको खबर लगत्तै चुनावी प्रचारको क्रममा झापा रहेका प्रचण्ड काठमाडौं पुगेका छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री प्रचण्डपुत्रको मृत्युप्रति शोक व्यक्त गर्नुभएको छ ।
आफ्नो ट्वीटरमार्फत शोक व्यक्त गर्दै “पूर्वप्रधानमन्त्री एवम् मेरा मित्र पुष्कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु” भन्नुभएको छ । साथै उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।