
पूर्णपुष्टि, पुष १७ । उदयपुरको बेलका नगरपालिका-८ मा आयोजित प्रथम यलम्बर कप फुटबल प्रतियोगिताको उपाधि यलम्बर स्पोर्टिङ क्लबले जितेको छ । मंगलबार बेलका-८ स्थित यलम्बर खेलमैदानमा भएको फाइनल खेलमा यलम्बर स्पोर्टिङले सोमबारे फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
विजयी टोलीका लागि निर्णायक गोल अनिस राईले गरेका थिए । विजेता यलम्बर स्पोर्टिङ क्लबले नगद रु. ३५,००५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सोमबारे फुटबल क्लबले नगद रु. २०,०२० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
यलम्बर एकता सेवा समाजको आयोजना तथा हात्तिसार सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा भएको प्रतियोगिता पुष ९ देखि सञ्चालन भएको थियो । ब्रदरहुड फुटबल क्लबको प्राविधिक सहयोग रहेको यस प्रतियोगितामा उदयपुर र सुनसरीका गरी ८ टिमको सहभागिता रहेको थियो ।