
पूर्णपुष्टि, साउन २२
२ न. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँसहित प्रदेश सभासदस्य रिना यादवलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।
आन्तरिक मामिला मन्त्रालय मन्त्री यादवसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । मन्त्री यादव होम आइसोलेशनमा बस्नुभएको छ । मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरिएको छ ।
उहाँ साउन १८ गते काठमाण्डौबाट फर्केर १९ गते स्वाब संकलन गराउनुभएको थियो । उहाँले आफूमा सङ्क्रमण पुष्टि भए पनि अवस्था गम्भीर नरहेको बताउनुभएको छ ।
मन्त्री यादवले काठमाण्डौमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीसँग भेट गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजयकुमार चौरसियालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर परीक्षण प्रयोगशालाले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार ५६ वर्षीय नेता चौरसियामा कोरोना भाइरसको सङक्रमण देखिएको हो । चौरसिया वीरगञ्ज–११ मा रहेको आफ्नै घरमा आइसोलेशनमा बस्नु भएको छ ।
पार्टीभित्र महाधिवेशनका विषयमा छलफल चलेको बेला नेता चौरासिया केही दिन अगाडि काठमाण्डौ जानु भएको थियो ।
काठमाण्डौबाट फर्किएपछि उहाँमा ज्वरो र रुघाखोकी देखा परेको थियो । उहाँले मङ्गलबार आफ्नो स्वाब परीक्षणका लागि दिनु भएको थियो । बिहीबार बिहान थपिएका ४३ सङ्क्रमितमा नेता चौरसियाको समेत पोजेटिभ रिपोर्ट आएको हो । चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
