
पूर्णपुष्टि, असोज १७
प्रदेश नम्बर ५ सरकारले स्थायी राजधानी प्रस्तावित क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ ।
प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका– १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका–८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले अर्घाखाँचीको शीतगंगाको वडालाई समेत समेटेर दाङको भालुबाङमा स्थायी राजधानी बनाउने र नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेको छ ।
अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रमा जग्गाको किनबेच र कित्ताकाट रोक्का गरिएको प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले दाङ र अर्घाखाँचीका मालपोत कार्यालयलाई जग्गाको किनबेच र कित्ताकाट रोक्न पत्राचार गरिसकेको जनाईएको छ ।
राजधानी प्रस्तावित क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार बढ्ने भएकाले सो निर्णय गरिएको हो । यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानी रहने चर्चा चल्दा जग्गाको अस्वाभाविक कारोबार भएको थियो । तर सरकारले रुपन्देहीको बुटवलमा अस्थायी राजधानी तोकिदिएपछि कारोबारीहरुको लगानी डुबेको थियो ।

