Sunday, February 16News That Matters

प्रमुख प्रशासकीय अधिकृतको अश्लिल भिडियोको प्रमाण मेटाउन हतार हतार क्वाटरमा रंगरोगन

पूर्णपुष्टि, १४ साउन ।
झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अश्लिल भिडियोको प्रमाण मेटाउन हतारमा आफु वस्ने क्वाटरमा रंगरोगन गर्न लगाएको छ । सरकारी क्वाटरमा महिलासँगको अश्लिल गतिविधि गरेको भिडियो बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरको रङरोगन गर्न लगाएका हुन् ।

मदिराको नशामा एक महिलासँग अश्लिल गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न लगाएका बुझिएको छ ।

भिडियोका कारण उनी विवादमा तानिएका छन् । दमक नगरपालिकाले घटनाको छानबिन गर्ने तयारी गरेको छ । छानबिन हुँदा फस्ने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरको बेडरुमको रंग परिवर्तन गरेको श्रोतले दाबी गरेको छ ।

टिकटक भिडियो लाइभमा देखिएको हरियो रंग बदलेर उनले कोठामा पहेँलो रंग लगाएका छन् । उक्त कोठामा देखिएको एसीले भिडियो सार्वजनिक भएको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ । शनिबार सार्वजनिक भएको भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा देखिन्छन् । महिलाले टिकटकमा लाइभ कुराकानी गरिरहेका बेला निरौलाले उनीसँग अश्लिल गतिविधि गरेको भिडियोमा देखिन्छ ।

आलोचना भएपछि निरौलाले भिडियो काठमाडौंको भएको दाबी गरेका नगरपालिका स्रोतले बताएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रमुख प्रशासकीय अधिकृतको कार्य आपत्तिजनक रहेको बताइन् । घटनाको छानबिन गर्न नगरपालिकाले समिति बनाउने उनले बताइन् । ‘उहाँको गलत क्रियाकलापप्रति हामी भत्सना गर्छौ, हाम्रो आपत्ति छ,’ उनले भनिन्,‘गलत गर्नेलाई कारवाही गर्नुपर्छ, नगरपालिकाबाट समिति बनाएर अनुसन्धान गर्छौं ।’

उनले क्वाटर घटना भएको हो होइन भन्ने विषय आफूलाई जानकारी नभएको बताइन् । ‘पहिले पनि हल्लाखल्ला सुने हिजोबाट समाचार नै आएको छ,’ उनले भनिन्, ‘मलाई चाहिँ नगरपालिका भित्रको होइन होला जस्तो लाग्छ, तर भिडियो हेरेको छैन, नगरपालिका भित्रको भिडियो हो भने झन धेरै गलत हो ।’

आइतबार रङरोगन गर्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ जहाँ ‘अधिकृत बच्ने गरी हरियो हट्नेगरी’ रङरोगन गर्न कामदारलाई अह्राएको देखिन्छ ।