
उदयपुर, चैत ७ गते ।
कोरोना भाइरसको संक्रमणबाट उच्च सतर्कता अपनाईराखिएको अहिलेको अवस्थामा जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवा भन्दा पहिले साबुन पानीले हातधुनुपर्ने व्यवस्था मिलाएको छ ।
नागरिकता, पासपोर्र्ट, मुद्दामामिला लगायतका काममा प्रशासनमा सेवाग्राहीको भिडभाड हुने र कोरोना भाइरसको संभावित संक्रमणप्रति सावधानी अपनाउन कार्यालय परिषरमा हातधुने व्यवस्था मिलाएको हो ।
कार्यालय परिषरमै रहेको धारामा प्रशासनले साबुन राखेर हातधुने ठाउँ तोकिएको छ । जिल्लाकै तालुक सरकारी अड्डाको रुपमा रहेको प्रशासनमा अनिवार्यरुपमा हातधुने व्यवस्था मिलाइए पछि सर्बसाधारणमा कोरोना भाइरसप्रति उच्च सतर्कता अपनाउनुपर्ने सन्देश प्रभाह भएको छ ।
प्रशासनमा, कर्मचारी वा सेवाग्राही जो कोहीले पनि कार्यालय प्रवेश गर्नु अघि अनिबार्यरुपमा साबुनपानीले हात धुनुपर्छ । हात धोएपछि मात्र कर्मचारीले सेवा प्रवाह गर्ने र सेवाग्राहीले सेवा पाउने व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी, भिमप्रसाद भट्टराईले बताउनुभयो ।
यस भाइरसको संक्रमणबाट बच्न पटकपटक हात धुनुपर्ने, सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । तसर्थ, सेवाग्राहीलाई अनिवार्य हातधुन लगाउन र हात धुने ठाउँ देखाइदिन प्रशासनले एकजना कार्यालय सहयोगी नै खटाइरहेको भट्टराईले बताउनुभयो ।
प्रशासनको यस कार्यले विश्वभर फैलि रहेको कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउनुपर्ने सन्देश प्रभावमात्र गरेको छैन भिडभाड हुने सरकारी कार्यालय तथा सार्बजनिक स्थानहरुमा पनि साबुनपानीले हातधुने व्यवस्था मिलाउन आवश्यक छ । प्रशासनको यो नमुना कामलाई अन्य सरकारी कार्यालयले पनि अनुसरण गर्ने प्रशासनको अपेक्षा छ ।
प्रशासनले दैनिकरुपमा आउने सेवाग्राहीहरु र कर्मचारीको स्वास्थ्यमा ध्यान राख्दै अनिवार्य हातधुने व्यवस्था गरेपछि सर्बसाधारणमा यसको सकारात्मक चर्चा चलेको छ । सेवाग्राहीहरुबीच एकआपसमा सजग भएर बस्ने, सतर्कता अपनाउने र सल्लाह, सुझाव आदानप्रदान गर्ने वातावरण पनि सिर्जना भएको नेकपा उदयपुर जिल्ला सदस्य परमेश्वर घिमिरेले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणप्रतिको सतर्कताको निम्ति प्रशासनको यो कार्य नागरिकका लागि स्वागतयोग्य बनेको छ ।

