Saturday, May 23News That Matters

प्रहरीको बर्दीमा नक्कली असईको परीक्षा गराउने पक्राउ

पूर्णपुष्टि, असोज १५

प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने बाराका अजयकुमार राय पक्राउ परेको छ । जितपुर सिमरा उप–महानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेको हो ।
रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

हिजो वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेका बेला रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

रायसहित बाराको जितपुर सिमरा उप–महानगरपालिका–५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का शिवनारायण चौरसिया र वीरगञ्ज–२७ रानीघाटका रामजी चौरसियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नक्कली लोक सेवाको परीक्षा सञ्चालन गरेर ठगी गर्ने योजना रायले नै बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । नौ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्स्पेक्टर भन्दै यादवले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।